लेखसार 
नेपालमा बसोबास गर्ने विभिन्न जात जातिहरूले सांस्कृतिक परम्पराको रूपमा जन्मेदेखि 
मृत्युसम्म अपनाउने विभिन्न चाडपर्वहरूमा प्रचलित लोकगीत तथा धुनहरूमा बजाइने मादल 
लोकप्रिय वाध्य हो । नेपाली लोकगीत तथा भाकाहरूलाई समयभित्र अड्याएर निश्चित गतिमा 
प्रवाह गर्ने मादल नेपालमै निर्मित सांस्कृतिक प्रतीकका रूपमा चर्चित एक प्रसिद्व मौलिक ताल 
बाजा पनि हो । अधिकांश नेपाली गीत तथा सङ्गीत र धुनहरूको साथै विदेशी सङ्गीतमा समेत 
मादलको प्रयोग ब्यापक छ । त्यसैले नेपाली सङ्गीतमा मात्र नभएर विदेशी सङ्गीतमा समेत 
मादलको महŒवपूर्ण स्थान छ । नेपाली लोक गीत सङ्गीत र धुनहरूमा मादलका विभिन्न तालहरू 
बज्ने र बजाइने गरिन्छ । यस परिपेक्ष्यमा यो अनुसन्धान नेपालमा प्रचलित लोकबाजा के कस्ता 
छन् ? मादल बाजाको बनोट तथा निर्माण प्रक्रिया के कस्तो छ ? मादलको बोल र बोल बादन 
गर्ने तरिका वा नियम के कस्तो छ ? मादलमा बजाइने प्रचलित तालहरूको अवस्था, प्रकिया 
र बोल के कस्तो छ ? यी तालहरू नेपालको कुन भेग र स्थानमा प्रचलित छन् ? भन्ने बारेमा 
विस्तृत रूपमा चर्चा गरिएको छ । यस लेखबाट हाम्रो सांस्कृतिक धरोहरको रूपमा रहेको 
मादलको विविध बोल र यसमा प्रचलित विभिन्न तालहरूको बारेमा पाठक वर्गलाई विस्तृत ज्ञान 
हासिल हुनेछ । यसका बारेमा ब्याख्यात्मक एवं विश्लेषणात्मक रूपमा उठाइएका कुराले समाज 
र साङ्गीतिक क्षेत्रमा रहेको कौतुहलता, उत्सुकता र जिज्ञासालाई मेटाउने छ ।